
दाङ / जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पाँच दिनसम्मका लागि कार्यालय बन्द गरिएको छ।
कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीहरूको स्वास्थ्य परीक्षणका लागि स्वाब संकलन गरी पठाइएकाले असोज २५ गतेदेखि ३० गतेसम्मलाई कार्यालय बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत अम्मरराज आचार्यले आइतबार सूचना प्रकाशित गरी असोजको ३० गतेसम्म कार्यालय बन्द रहने जानकारी गराएका छन् ।
बन्दको समयमा अत्यावश्यक शान्ति सुरक्षा र मुद्दा बाहेक अन्य सेवाहरू बन्द रहने जनाइएको छ। यसअघि पनि जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको थियो।