डोटी / दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेश प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ ।
चार्ड पर्वका समयमा हुन सक्ने सम्भाबित घटना र अपराधीक क्रियाकलाप नियन्त्रण गर्ने गरी सुरक्षा रणनीति तयार पारेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए ।
गएको एक सातामा ३ दर्जन भन्दा बढी जुवाडेहरु पक्राउ गरेको सुदुरपश्चिम प्रहरीले दसैं–तिहारका समयमा सुरक्षा व्यवस्थालाई अझै कडा पर्ने भएको छ ।
त्यस्तै जुवातास खेल्ने जुवाडे र अपराधिक गतिविधिमा संलग्न रहेको पाएमा अपराधीले उन्मुक्ती नपाउने र कानूनी रुपमा कडा कार्वाही गरिने सुदुरपश्चिम प्रहरीले जनाएको छ । प्रदेश भरमा ५ हजार ५० जना प्रहरी कर्मचारीहरुले नयाँ सुरक्षा रणनिति अनुसार काम गर्ने छन् । नागरिकलाई सुरक्षित राख्दै सेवा प्रवाह गर्नेमा प्रदेश प्रहरीले योजना बनाएको हो ।
प्रदेशका ९ वटै जिल्लामा थप प्रहरी परिचालन गरी अपराध हुन सक्ने स्थानमा प्रहरीलाई चनाखो रहन निर्देशन दिइएको सिंहले बताए । जिल्ला प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, डडेल्धुरा र डोटीमा थप प्रहरी परिचालन भएका छन् ।
दसैं, तिहार र छठसम्म प्रदेशका ९ वटै जिल्लामा सीमा नाकाको नियमन, मोबाइल गस्ती, राजमार्ग स्कर्टिङ, पैदल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, यात्रु सहायता कक्ष लगायतमा प्रहरी खटिने प्रहरी उपरीक्षक सिंहले बताए ।
बढी भीड हुने प्रदेशका ४० स्थानमा यात्रु सहायता कक्ष तयार हुनेछन् भने तोकिएको दरभन्दा बढी भाडा लिएको पाईए ठग्नेलाई कारबाही गर्ने गरी रणनीति तयार पारिएको छ । रणनितिलाई सफल पार्न सादा पोशाकका प्रहरी सक्रिय रहने छन् भने विशेष अवस्थाका लागि ७ सय १४ जना प्रहरीको टोली हाईअलट अबस्थामा रहने छन् ।