
धनगढी / कैलालीको टीकापुर नगरपालिकाले सञ्चालन गरेको ‘होम टु हस्पिटल’ कार्यक्रमबाट ९२ सुत्केरीले सेवा लिएका छन् । होम टु हस्पिटल अर्थात् घरदेखि अस्पतालसम्म कार्यक्रमबाट निःशुल्क एम्बुलेन्स सेवा पाएपछि सुत्केरलाई सहज भएको छ ।
विसं २०७५ माघ १७ गतेदेखि सुरु भएको होम टु हस्पिटल कार्यक्रमबाट अहिलेसम्म ९२ महिलाले सेवा लिएको नगरपालिकासँग तथ्याङ्क छ । नगरपालिकामा गर्भवतीलाई सुत्केरी हुन अस्पताल आउन सजिलो होस् भन्नका लागि नगरपालिकाले होम टु हस्पिटल कार्यक्रम सञ्चालन गरेको हो ।
यस कार्यक्रम अन्तरगत व्यथा लागेका गर्भवतीलाई घर देखि अस्पताल सम्म निःशुल्क रुपमा पुर्याउने गरिन्छ । यसले गर्भवतीलाई सजिलो भएको वडा नम्बर २ विकासपुरकी चन्द्रा बुढाले बताइन् ।
होम टु हस्पिटल अर्थात् घरदेखि अस्पताल कार्यक्रम सुरु भएका कारण टीकापुरमा कुनै पनि सुत्केरीले ज्यान गुमाउन नपरेको नगरपालिकाले जनाएको छ । नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले बाल तथा मातृ मृत्युदर शुन्यमा ल्याउने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको बताए ।
नौ वडा रहेको सो नगरपालिकामा ९८ हजार ६ सय ५१ जनसङ्ख्या छ । एउटा एम्बुलेन्समार्फत सबै वडाका गर्भवतीलाई सेवा दिइएको छ । नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाका लागि नगरपालिकाले एम्बुलेन्स खरिद गरेपछि रेडक्रसले ‘घरदेखि अस्पताल’ कार्यक्रमको व्यवस्थापनमा सघाइरहेको नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाका सभापति जगदिश्वर पण्डितले बताए ।