
सुर्खेत / सात जनाको ज्यान जाने गरि बुधबार भएको जिप दुर्घटनाको विषयलाई लिइर मृतकका आफन्तले सवारी चालक गोरख बहादुर बस्नेतको घर र पसलमा आगो लगाइ दिएका छन् ।
जुनीचाँदे–५ स्थित मटेलमा रहेको चालकको घर र छेडागाड नगरपालिकाको सुवानाउलीमा रहेको पसल जलाइ दिएको प्रहरी श्रोतले जनाएको छ ।
घटनाबारे जानकारी पाए सँगै प्रहरी टोली घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार जिपका चालक फरार रहेको आशंका गरिएको छ । उनको मोबाइल गाडीमै छुटेको र शव पनि नभेटिएको डीएसपी श्रेष्ठले बताए ।
विहिबार जुनीचाँदे गाउँपालिका–११, का १७ वर्षीय लालबहादुर बुढाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या सात पुगेको हो l प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाका अनुसार सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका जाने क्रममा भे १ ज ९३५ नम्बरको जिप बुधबार दिउँसो ३ बजे जुनीचाँदे गाउँपालिका–२ स्थित औलखोलामा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृतीबहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्णबहादुर शाही, ३० वर्षीय खिमबहादुर शाही र छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको मृत्यु भएको थियो ।