आशिष बहादुर सिँह / बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बलात्कारको घटना गाउँमै मिलाउनका लागि कागज बनाउने मुख्य व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
प्रहरीले मिलापत्र गराउन कागज तयार गर्ने मष्टा गाँउपालिका–२ खिकालाका बाबाजी भनिने बालम दमाइलाई बुधबार घरबाटै पक्राउ गरेको हो ।
उनले गत २९ साउनमा १४ वर्षीया बालिकामाथि बलात्कार भएको घटनालाई मिलापत्र गराउनका लागि कागज तयार पारेका थिए । घटना बाहिर आउन नदिन उनीसहित अन्य ६ जनाले पीडित र राजेन्द्र बोहरा पक्षबीच ३१ साउनमा मिलापत्र गराएका थिए ।
यसअघि १९ असोजमा मिलापत्र गराउन पञ्च बसेको भन्दै प्रहरीले २४ वर्षीय झलक दमाई, ४५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई र ५५ वर्षीय गल्फे बोहरालाई पक्राउ गरेको थियो ।
मिलापत्रमा दुई पक्षका तीन जनाले हस्ताक्षर गरेका थिए भने राजेन्द्रले बालिकाको खुट्टामा पाँच सय रुपैयाँ राखेर ढोगेको समेत खुलेको थियो । त्यस्तै, मिलापत्र गराएको एक महिनापछि बोहराले ७ असोजमा सोही ठाँउकी १२ वर्षीया सिता कामीको बलात्कारपछि हत्या गरेका प्रहरीमा साविती बयान समेत दिएका छन् ।
अहिले उनी प्रहरी हिरासतमा छन् । सम्झाना कामी माथि बलात्कारपछि हत्या गरेको घटनामा पक्राउ परेका बोहरामाथि अनुसन्धान गर्दा २९ साउनमा घटना बाहिरिएको हो । मिलापत्र गर्नेहरूमाथि पनि अहिले अनुसन्धान भइरहेको बझाङका डीएसपी रूपक खड्काले बताए ।