
कैलाली / खेलमा सट्टाबाजी गर्ने कुरा बेला बखत सार्वजनिक हुने गरेको छ । त्यस्तै सट्टाबाजीको समाचार सुदूरपश्चिम प्रदेशमा समेत सार्वजनिक भएको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टाबाजी गरेको आरोपमा एक जनालाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का सञ्जिव गुप्तालाई सट्टाबाजीको आरोपमा पक्राउ गरेको हो ।उनले लाखौं बढीको सट्टाबाजी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
प्रहरीका अनुसार उनले धनगढीमा नै आइपीएलमा खेलाडी भएमा, खेलाडीले रन बनाएमा, चौका वा छक्का भएमा, विकेट गएमा, टिमले जितेमा वा हारेमा सट्टाबाजी गर्दै आएका थिए ।
प्रहरीले उनको साथबाट दुई थान मोबाइल सटेसमेत बरामद गरेको छ । जिल्ला अदालत कैलालीबाट जुवा सट्टाबाजी मुद्दामा म्याद समेत थपिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।
आईपीएलमा अनलाइनमार्फत् सट्टाबाजी खेलाएको आरोपमा यसअघि मोरङबाट पनि तीन जना पक्राउ परेका थिए ।