समीक्षा आचार्य, काठमाडौं / सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आजका ४ बजेकालागि बालुवाटारमा बोलाइएको छ ।
पार्टीभित्र राजनीतिक नियुक्ति र मन्त्रिपरिषद पुनर्गठनको तयारीका विषयमा विवाद भैरहँदा सचिवालय बैठक आजकालागि बोलाइएको नेकपाले बताएको हो । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरी मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेको भन्दै नेकपाका शीर्ष नेताहरुले ओलिसंग असन्तुष्ट छन् ।
यसअघि स्थायी कमिटी निर्णय र सचिवालयको छलफल अनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल चलिरहेको थियो।
तर छलफलकै बिच प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति सम्बन्धी महत्वपूर्ण निर्णय ओलिले एकलौटी गरेको भन्दै नेकपाका नेताहरु असन्तुष्ट भएका हुन् ।
सरकारले बिहिबार शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको थियो भने निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत, पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिका र डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको छ ।