काठमाण्डौ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज शुक्रबार पनि सुनुवाई हुने भएको छ ।
प्रतिनिधिसभा चुनाव हारेका गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । उक्त रिट माथि गत बुधबार पहिलो सुनुवाई भए पनि पक्ष विपक्षका अधिबक्ताहरुको वहस नसकिएकोले आज शुक्रबारलाई सुनुवाई सारीएको थियो ।
सोहि अनुसार आज संवैधानिक इजलासमा आज सुनुवाई हुने भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा गत बुधबार सुनुवाई हुँदाहुँदै समय अभाव भएपछि शुक्रबारका लागी सारिएको थियो ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिँदै रिटलाई संवैधानिक इजलासमा पठाएको थियो ।