
बैतडी / कोरोना महामारी व्यवस्थापनको क्रममा अनियमितता गरेको भन्ने उजुरीका आधारमा बैतडी जिल्लाको पाटन नगरपालिकाका कागजात अख्तीयारले नियन्त्रणमा लिएको छ ।
नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै गत आर्थिक वर्षमा रु १ करोड ७३ लाख खर्च भएको सार्वजनिक गरेको थियो । कोरोना नियन्त्रणमा अनियमितता भएको भन्दै नगरसभा सदस्य भीमदत्त भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त छानबिन समितिले यही असोज ९ गते प्रतिवेदन सार्वजनिक गर्दै कोरोना नियन्त्रण तथा अन्य शीर्षकमा रु ५३ लाख १५ हजार ७ सय २१ अनियमितता गरेको ठहर गरेको थियो ।
सोहि प्रतिबेदनमा टेक्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार उक्त कार्यालयका कागजातहरु नियन्त्रणमा लिएको अख्तियार कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताए ।
अनियमितताको विषयलाई लिएर अख्तियारमा फोनका साथै लिखित रुपमा उजुरी परेको थियो । उक्त मुद्धाका बारेमा स्थलगत अध्ययन समेत हुने अख्तियारले जनाएको छ । मुद्दा छानविनको क्रममा रहेको उक्त कार्यालयले जनाएको छ । हिजो सोमबार नगरपालिकाका कागजात नियन्त्रणमा लिएको हो ।