
आशिष बहादुर सिंहको स्थलगत विशेष रिपोट
गाउँमा आज भन्दा एक महिना अगाडी भएको बलत्कारको घटना ५ सयमा मिलोमतो गर्ने जस्ता यस्ता अपराध लुकाएको हुनाले सम्झनाले ज्यान गुमाएको प्रहरीको भनाई छ । सम्झना कामीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवक यसअघि पनि त्यस्तै घटनामा संलग्न भएको खुलेको छ ।
गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको शव सिममाडौं मन्दिरमा फेला परेको थियो । सोही दिन प्रहरीले मस्टा–२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा बोहरा शृंखलाबद्ध अपराधका घटनामा जोडिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए ।
१४ बर्षीया दलित बालिका माथी बलात्कार, गाँउमा पाँच सयमा मिलाईयो केश
उनका अनुसार बोहराले गत साउन २६ मा खिकालाकै १४ वर्षीया दलित बालिकालाई बलात्कार गरेको घटनालाई गाउँमै गुपचुप मिलाइएको खुलेको थियो ।
साँझ ५ बजेतिर धनचडी बोहराको पानीघट्टमा अन्न पिस्न पुगेकी बालिकालाई जबर्जस्तीकरणी गरेको बारे आइतबार मात्रै जाहेरी आएको डीएसपी खड्काले बताए ।
५ कक्षामा पढ्ने ती बालिकाले तीन दिनपछि मात्रै घटनाबारे आफ्नी भाउजूलाई सुनाएकी थिइन् । त्यसपछि परिवारले पञ्चायती बसालेका थिए । पञ्चायतीमा ‘एकै गाउँका भाइबहिनी हुन्, यत्तिको घटना भइहाल्छ’ भन्दै पाँच सय जरिवाना गराएर घटना गाउँमै सामसुम पारिएको थियो ।
दुवै पक्षबीच भएको मिलापत्रमा राजेन्द्रका बुवा र बालिकाका दाजुसहित ६ जनाले हस्ताक्षर गरेका छन् । मिलापत्रमा ‘गर्भ रहेमा युवकले जिम्मा लिने’ व्यहोरा उल्लेख छ ।
विभिन्न अपराधिक घटनामा संलग्न रहेका छन् अरोपी
चरेस, मदिराजस्ता नशालु पदार्थ सेवन गर्ने, एक्लै हिँडडुल गर्न रुचाउने बोहरा यसअघि थुप्रै चोरी र लुटपाटका घटनामा संलग्न रहेको स्थानीय बताउँछन् ।
उनले महिला र बालिकाहरूले लगाएका गहना खोस्ने, घर तथा पसलमा चोरी गर्ने दर्जनौं घटना गाउँमै मिलाइएको खिकालाकै अर्जुन बोहराले बताए । ‘उसको समूहमा एक–दुई जना अरू पनि थिए,’ उनले भने, ‘मान्छे नभएको मौका पारेर सुटुक्क गाउँलेका घरमा पस्ने र चोर्ने गर्न थालेको तीन वर्षजति भयो ।
सम्झनाको बलात्कार र हत्या भएको ठाउँ भन्दा ५ सय मिटर पर गत मंसिरमा ११ वर्षका बालक विमल कामी मृत भेटिएका थिए । शव फेला पर्दा उनको एउटा कानको मुन्द्रा थिएन । त्यसबेला गाउँमै रहेका राजेन्द्र बोहरा उक्त घटनालगत्तै भारत गए ।
फर्केर आएपछि गाउँका बालबालिकालाई तर्साउन थाले । उनीहरूका साथमा हुने पैसा र सामान खोस्दै ‘विमललाई मैले मारेको हुँ, तिमीहरूले पैसा दिएनौ भने मारिदिन्छु’ भन्ने गरेको विमलका बाजे टसी कामी बताउँछन् ।
उक्त घटनाबारे भने प्रहरीलाई जानकारी नआएको डीएसपी खड्काले बताए । ‘एक जना बच्चा रूखबाट लडेर ढुंगामा ठोक्किएर मृत्यु भएको भन्नेसम्म हामीले थाहा पायौं,’ उनले भने ।