युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाण्डौ / सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वैज्ञानिक वन व्यवस्थापनका नाममा चरम अनियमितता भएको र बन क्षेत्रमा चरम दोहन गर्दै संवेदनशील वन क्षेत्र विनाश समेत गरिएको निश्कर्ष निकालेको छ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको बारेमा अध्ययन गर्न गठित उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयनले तराई, चुरे र अन्य विभिन्न संवेदनशील क्षेत्रमा वन विनाश भई गम्भीर वातावरणीय जोखिम उत्पन्न भएको ठहर गरेको हो ।

वन व्यवस्थापनका नाममा वन अधिकृत, सामुदायिक र साझेदारी वन समूहका पदाधिकारीले काठमा चरम अनियमितता गरेको पनि उपसमितिले प्रतिवेदनमा उल्लेख गरेको छ । उपसमितिले लेखा समितिलाई बुझाएको प्रतिबेदनमा चुरे क्षेत्रमा लागू गरिएका वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम रद्ध गरी दिगो वन व्यवस्थापन कार्ययोजनाहरु तर्जुमा गरी कार्यान्वयन गर्न वन मन्त्रालयलाई निर्देशन दिन सिफारिस गरेको छ ।

सांसद प्रदीप यादव नेतृत्वको उपसमितिले वैज्ञानिक वन व्यवस्थापनका नाममा रुख कटान र काठ तस्करीमा संलग्न वन कर्मचारी र वन समूह पदाधिकारीलाई समेत कारबाही गर्न सिफारिस गरेको छ ।

८ वन कर्मचारीलाई कारबाही गर्न सिफारिस

उपसमितिले सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्ट, कैलाली पहलमानपुरको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट, धनगढीका डिभिजनल वन अधिकृत रामचन्द्र कंडेल, कञ्चनपुरका डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत अजयविक्रम मानन्धरलाई कारबाही गर्नका लागी सिफारिस गरेको छ ।

त्यसैगरी, डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत ईश्वरीप्रसाद पौडेल र डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत विजयराज सुवेदी, डिभिजन वन कार्यालय सिन्धुली, कमलामाइका वन अधिकृत नारायण श्रेष्ठ र डिभिजन वन कार्यालय सिन्धुली मरिनका वन अधिकृत पुष्पराज बर्तौलालाई पनि कारबाही गर्न सिफारिस गरेको हो ।

सबै वनमा छानबिन गर्न सिफारिस

उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएका सबै जिल्लाका सामुदायिक र साझेदारी वनमा छनविन गर्न र दोषीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरेका वन उपभोक्ता समूहमा काठ कटानका लागि स्थानीय तहको स्वीकृति नलिएको, साधारण सभाबाट कार्ययोजना र वार्षिक कार्यक्रम पारित नगरेको, कीर्ते दस्तखत गरी कागजात तयार गरेको उपसमितिको दावी छ ।

त्यस्तै कोषको रकम हिनामिना गरेको, वैज्ञानिक वनको कार्ययोजना बनाउन परामर्शदातालाई अस्वाभाविक रुपमा अत्यधिक रकम उपलब्ध गराएको, कार्ययोजनामा निर्धारित परिमाण भन्दा बढी र वार्षिक वृद्धिदर भन्दा बढी काठ कटान गरेको देखिएको पनि उपसमितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

अनियमिततामा संलग्न २१ सामुदायिक र ७ साझेदारी वन

उपसमितिले कैलाली, कञ्चनपुर, सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलवस्तु, र बाँके जिल्लामा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा अख्तियार दुरुपयोग, भ्रष्टाचार र अनियमिततामा संलग्न सामुदायिक र साझेदारी वन समूहमा भएका अनियमितता र त्यसमा संलग्न पदाधिकारीको विवरण नै सार्वजनिक गर्दै उनीहरुलाई समेत कार्वाहीगर्न सिफारिस गरेको छ ।

प्रतिवेदन अनुसार कैलालीका १३ वटा सामुदायिक वन अनियमिततामा मुछिएका छन् । कैलाली मोहन्यालको जाल्पा सामुदायिक वन, बरगदा सामुदायिक वन, चेतना सामुदायिक वन, चुरेमालिका सामुदायिक वन र जनकल्याण सामुदायिक वन लम्कीचुहाको मुक्त कमैया सामुदायिक वन, महिला जागरण सामुदायिक वन, मातृभूमि सामुदायिक वन समूहले अनियमितता गरेका छन् ।

त्यस्तै कैलालीकै जानकी गाउँपालिकाको ऐश्वर्य सामुदायिक वन, अमरावती सामुदायिक वन, कर्णाली करिडोर सामुदायिक वन, बर्दगोरियाको रानी जरुवा सामुदायिक वन र लालीगुराँस सामुदायिक वन पनि अनियमिततामा मुछिएका छन् ।

यी वन समूहले चुरेको भिरालो वन क्षेत्रमा वन फँडानी गरेको, कीर्ते कार्ययोजना बनाई काठ ठेकेदारहरुसँग ऋण लिएर रुख कटान गरेको, पुनरुत्पादन हुन नसक्ने र चुरे क्षेत्रमा रहेका प्राकृतिक रुखहरु कटान गरेको उपसमितिले उल्लेख छ ।

जानकी गाउँपालिका– ४ को अमरावती सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले छोरालाई काठको ठेक्का दिएको, लम्कीचुहाको मातृभूमि सामुदायिक वनसमूहका पदाधिकारीले कीर्ते उपभोक्ता खडा गरी वैज्ञानिक वनको कार्ययोजना स्वीकृत गराई वन फडानी गरेको उपसमितिले उल्लेख गरेको छ ।

यसैगरी, कञ्चनपुर शुक्लाफाटा नगरपालिकाको श्रीकृष्ण सामुदायिक वन समूह र बैजनाथ सामुदायिक वन, कपिलवस्तुको श्रीङ्गीघाट सामुदायिक वन, र बाणगंगा नगरपालिकाका विभिन्न सामुदायिक वन समूहले अनियमितता गरेको उपसमितिले जनाएको छ ।

नवलपुर मध्यविन्दु नगरपालिकाको जनजागरण सामुदायिक वन र कावासोती नगरपालिकाको सयपत्री हरियाली सामुदायिक वन समूहले पनि अनियमितता गरेको उपसमितिको ठहर छ । यी वनहरुले सामुदायिक वनको वार्षिक काठ कटान योजना लागू गर्न स्थानीय तहबाट स्वीकृत नलिएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

चितवनको कंकाली सामुदायिक वनलगायतका सामुदायिक वन, सिन्धुली दुधौली नगरपालिका– ३ को विकासपुर सामुदायिक वनलगायत चुरे क्षेत्रका सामुदायिक वनहरुले पनि मिलेमतोमा काठ बिक्री गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै रौतहट, चन्द्रपुर नगरपालिका– २ को नमुना सामुदायिक वन समूह, मकवानपुरको लालीगुराँस सामुदायिक वन समूह र पशुपति सामुदायिक वन समूहले अनियमितता गरेको उपसमितिले जनाएको छ ।

उपसमितिले कैलालीको भारताल साझेदारी वन र बाह्वन साझेदारी वन, कपिलवस्तुको तिलौराकोट साझेदारी वन, नवलपुरको मध्यविन्दु साझेदारी वन, बाराको हलखोरिया साझेदारी वन, पर्साको सबैया साझेदारी वन, रौतहटको रंगपुर साझेदारी वन, सर्लाहीको फूलजोरबाबा साझेदारी वन, जानकीनगर साझेदारी वन र लालबन्दी साझेदारी वनले अनियमितता गरेको उल्लेख गरेको छ ।

यी बाहेक वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएका मोरङलगायतका जिल्लाका अन्य साझेदारी वनहरुमा पनि अनियमितता देखिएको उपसमितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय