
शुशीला पन्त, डोटी / विश्वभर अहिले कोरोनाको कहर चलेको छ । यस्तो अबस्थामा कोरोना भइरसको महामारीबाट कसरी जोगिन सकिन्छ भन्ने कुरा नै अहिलेको प्राथमिकता भएकाले समुदायका महिलाहरुलाई लक्षीत गरि कोरोना व्यवस्थापनका लागी कसरी बजेट माग गर्ने भन्ने विषयमा ३ दिने तालिम दिईएको छ ।
स्थानिय सरकारले निति तथा कार्यक्रम तयार गर्दा वा योजना छनौट गर्दाको समुदायस्तरबाट नै कसरी कार्यक्रम छनौट गर्ने कस्ता योजनाहरु कार्यपालिकामा पठाउने भन्ने बारेमा दलित महिला संघ फेडो नामक गैरसरकारी संस्थाले २५ जना महिलाहरुलाई तालिम दिएको हो ।
सो संस्थाबाट संचालन भएको संचालित दलित महिलाको विकास र सामाजिक न्यायका लागी शासन सुदृढिकरण परियोजना अन्तरगत तालिम संचालन भएको कार्यक्रम संयोजक योगोश वहादुर मल्लले बताए । मल्लले भने, कोरोना कहरबाट बाच्न र बचाउन सहयोग पुर्याउने उद्धेश्यका साथ ३ दिने नीति, बजेट, विकास र न्यायमा पहुँच सम्बन्धी नेतृत्व शिप विकास तालिम संचालन गरेका हौ ।
असार ४ गते देखी संचालन भएको उक्त तालिम ६ गते मंगलबार सम्पन्न भएको मल्लले बताए । तालिममा कोरोनाको परिचय यसबाट जोगिनका लागी गर्नु पर्ने साबधानी, योजना, बजेट, बजेटमाग, कार्यन्वयन, नेतृत्व विकास लगायतका विषयहरुमा तालिमका सहभागीहरुलाई जानकारी दिईएको मल्लले बताए ।
तालिमको समापन संगै तालिमका सहभागीहरुले समुदायमा कोरोनाको संक्रमण फैलन नदिन आफुहरु सचेत भएको र सचेत बन्दै समुदायका अन्य मानिसहरुलाई पनि कोरोनाका बारेमा जानकारी दिनुको साथै आगामी निति तथा कार्यक्रममा कोरोना व्यवस्थापन सम्बन्धीको योजनाहरुलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जाहेर गरेको मल्लले बताए ।