आशिष बहादुर सिंह, बझाङ / दुर्गम साइपाल गाउँपालिकाका बासिन्दाहरुको आँखा सम्बन्धी समस्याको जाँचमा गएको स्वास्थ्यकर्मीहरुको टोलीले ६ सय ४३ जनामा आँखा सम्बन्धी समस्या रहेको व्यक्ति फेला पारेको छ । टोलीले गाउँपालिकाभरिका ९ सय २३ जनाको आँखा परीक्षण गरेको थियो ।
आँखा सम्बन्धी समस्या देखिएकाहरुमा ६३ जनामा मोतिबिन्दुलगायत शल्यक्रिया गर्नु पर्ने खालको समस्या देखिएको र ५ सय ८० जनाको औषधि उपचारपछि नियमित चश्मा लगाएमा दृष्टि पूर्ववत फर्किने सम्भावना रहेको परीक्षण टोलीले जानकारी दिएको छ ।
गेटा आँखा अस्पताल र जिल्ला अस्पताल बझाङको टोलीले गरेको प्रारम्भिक परीक्षणका क्रममा लामो समयदेखि अन्धोपनमा रहेका कतिपयको अवस्था निकै जटिल भइसकेको पाइएको टोलीमा सहभागी स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
‘१०।१२ वर्षदेखि अन्धोपन भएका मानिसहरु पनि थुप्रै भेटिए,’
साइपालबासीको आँखाको प्रारम्भिक परीक्षण टोलीमा संलग्न एक स्वास्थ्यकर्मी जनककुमार विष्टले भने, ‘कतिपयको त मोतिबिन्दु बिग्रेर जटिल अवस्थामा पुगिसकेको रहेछ ।’ उनले वर्षौदेखि आँखाको ज्याति गुमाएर बसिरहेका वृद्धवृद्धाहरुको अवस्था निकै कष्टकर रहेको सुनाए ।
गाउँपालिकामा रहेका आँखा रोगीहरुको वास्तविक तथ्यांक आफूले अनुमान गरेभन्दा निकै बढी देखिएको साइपाल गाउँपालिकाकाका अध्यक्ष राजेन्द्र धामीले बताए । ‘हामीले तीन सय जतिमा समस्या होला भन्ने अनुमान गरेका थियौं । यहाँ दोब्बरभन्दा बढीमा भेटियो,’ उनले भने, ‘अब वास्तविक तथ्यांक आएको छ । सहयोगीहरु पनि थुप्रै जुटेका छन् । ढिलै भएपनि साइपालका सबै आँखा रोगीहरुले उपचार पाउने आशा पलाएको छ ।’ उनले आँखाको समस्या समाधान गरिदिनका लागि यसअघि पनि आफूले धेरैलाई अनुरोध गरेको तर कसैले सुनुवाई नगरिदिएको बताए ।
कात्तिक पहिलो साता शिविर सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिएका छन् । साइपाल गाउँपालिकाको केन्द्र रहेको काँडामा तीन दिनसम्म शिविर चल्ने र तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक एवं वरिष्ठ नेत्ररोग विषेशज्ञ प्रा.डा. सन्दुक रुइतको टोलीले आँखा शिविर शल्यक्रिया लगायतका सेवा दिने उनले जानकारी दिए । यसका लागि अस्पताल विकास समितीले डा.रुइतलाई पत्राचारसमेत गरिसकेको भण्डारीले बताए ।
यस्तै आँखा तथा एकिकृत स्वास्थ्य शिविरमा चिकित्सक, औषधि र उपकरण ओसार्नका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई हेलिकप्टर खर्च बेहोर्नका लागि समेत अस्पताल व्यवस्थापन समितिले अनुरोध गरिसकेको जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए ।
प्रदेश सरकारसँग शिविर सञ्चालनका लागि पहल गरिरहेका सभामुख अर्जुन थापाका स्वकिय सचिव कविन्द्र रोकायाका अनुसार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले हेलिकप्टर र औषधि खर्चको रकम निकासा सम्बन्धी काम थालेको र नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर प्रक्रिया छोट्याउन पहल भइरहेको छ । उनले सकेसम्म असोज महिनाभित्र शिविर सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिए ।