
काठमाण्डौ / लकडाउनले समग्र नेपाली पत्रकारिता तथा सञ्चार क्षेत्रमा नकारात्मक असर देखिएपछि नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभाव सर्वेक्षण गरि त्यसको नतिजा सार्वजनिक गरेको छ ।
महासंघले गरेको अध्ययनबाट मिडिया क्षेत्रको आम्दानी घटेको र त्यसको प्रत्यक्ष असर श्रमजीवी पत्रकारहरुमा परेको देखिएको छ । कतिपय सञ्चार गृहले भने महामारीलाई बहाना बनाई सञ्चारमाध्यम बन्द गर्ने वा पत्रकारहरुलाई रोजगारीबाट निकाल्ने सम्मका काम गरेको पाइएको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले विशेष गरी परम्परागत मिडियाको भविष्य के हुने भन्ने बारे अन्योल देखिएको छ ।
अधिकांश पत्रकारहरुले यस अवधिमा समाचार संकलन र सम्प्रेषण गर्दा उपलब्ध स्वास्थ्य सुरक्षाका विधि अपनाएको भए पनि करिब दुई तिहाई पत्रकारले आफ्नो काम गर्दा असुरक्षित महसुस गरेका सर्वेक्षणका क्रममा देखिएको छ । महासंघले गरेको सर्बेक्षणमा ७० प्रतिशतभन्दा बढी पत्रकारले कोरोना महामारी तथा लक डाउनका कारण समाचार संकलन र सम्प्रेषणमा असहजता महसुस गरेको बताएका छन् ।
पत्रकारहरुको पेशागत सुरक्षा र आम्दानीमा प्रत्यक्ष प्रभाव परेको पाईएको सर्वेक्षणको सार्वजनिक प्रतिबेदनमा उल्लेख छ । ४० प्रतिशत भन्दा बढी पत्रकारहरुको पेशा तथा आम्दानीमा महामारी र लकडाउनको प्रत्यक्ष असर परेको देखिएको छ । यस्तो असर परेका पत्रकारहरुमा पुरुषको दाँजोमा महिला पत्रकारको अनुपात बढी रहेको पत्रकार महासंघले प्रतिबेदनमा उल्लेख गरेको छ ।
संचालकहरुबाट सेवासुविधा नपाएका कारण लक डाउनको करिब ६ महिलाको अबधिमा दुई तिहाई पत्रकारहरुलाई आफ्नो दैनिक घरखर्च चलाउन समेत समस्या रहेको पाईएको प्रतिबेदनमा उल्लेख गरिएको छ । प्रतिबेदन अनुसार ६१ प्रतिशतले बचतको उपयोग गरेको छन्, ४५ प्रतिशतले घरखर्चमा कटौती गरेको छन्, ३७ प्रतिशत पत्रकारहरुले दैनिक घरखर्चका लागी ऋण लिएको र १२ प्रतिशतले आफन्त तथा साथीभाइसँग सापटी लिई घरखर्च चलाएको सर्वेक्षण प्रतिबेदनमा उल्लेख गरिएको छ ।