रोजेन्द्र जोशी, डोटी / जिल्ला प्रशासन कार्यालय डोटीमा सेवा लिने सेवाग्राहीहरुको संख्या अत्यधिक बृद्धि भए संगै स्थानिय प्रशासनले आज सोमबार राती ८ बजे पछि सम्म सेवा प्रवाह गरेको छ ।
१० बजे सरकारी कार्यालय नपुग्ने र बेलुकी ५ नबज्दै कार्यालय छोडी भाग्ने कर्मचारीहरुका लागी डोटीको प्रशासन कार्यालयले गतिलो उदाहरण पेश गरेको छ । कुनै स्वार्थ विना जनताको सेवामा डोटीको स्थानिय प्रशासनले देखाएका कार्य साँच्चैको प्रशंसायोग्य छ ।
कोरोना कहरका विच सेवाग्राहीको संख्या बढेको भन्दै जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका ९ स्थानिय तहहरुको कार्य सम्पदान गर्नका लागी बार अनुसार सेवा दिने भन्दै स्थानिय तहहरुको पालो लगाएको भए पनि सोमबार अत्यधिक संख्यामा सेवाग्राहीहरु आए पछि उक्त कार्यालयले राती ८ बजे पछाडी सम्म सेवा प्रदान गरेको उक्त कार्यालयका प्रशासकिय अधिकृत शिव कुमार राईले बताए । राईले भने “विहान ९ः३० बजे देखी नै निरन्तर सेवा प्रवाह गरि रहेका छौ अहिले सम्म पनि नागरिकता वितरणको काम सकिएको छैन । कतिपयको अहिले नै नागरिकता लिनु पर्ने बाध्यता रहेको छ भने कति बृद्ध आमाहरु नागरिकताका लागी कुर्दै बस्नु भएको छ । यस्तो अबस्थामा हामीले केहि भए पनि सहयोग पुराउनु पर्छ भन्दै आज एक दिनका लागी अलि ढिला सम्म नागरिकता वितरण गरेका हौ ।”
कोरोना कहरका कारण धेरै मानिसहरु आफ्नो रोजगारी गुमाई स्वदेश फर्किएका छन् । अहिलेको समयमा उनीहरुलाई राहत पुराउने उदेश्यका साथ स्थानिय सरकार प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु अगाडी ल्याएको छ । विदेशबाट फर्किएका र रोजगारी गुमाएका व्यक्तिहरुले स्थानिय तहमा दिनु पर्ने निबेदनमा नेपाली नागरिकता समेत माग गरिएको छ । कतिपय स्थानिय तहले प्रस्तावना माग गरेको समय भोली मंगलबार सकिदै छ । सोमबार नै उनीहरुले नेपाली नागरिकताको प्रमाण पत्र नपाएमा आफुले पाउन सक्ने अबशर गुमाउनु पर्ने समेत देखीएकोले पनि डोटीको प्रशासनले अबेर सम्म भए पनि नेपाली नागरिकताको प्रमाण पत्र वितरण गरेको हो ।
सेवा प्रबाह गर्नका लागी डोटीको प्रशासनले पालो नलगाएको समयमा १ सय ५० जति नागरिकता वितरण गर्दै आएको भए पनि स्थानिय तहका आधारमा पालो लगाईएको समयमा पनि सोमबार मात्र नयाँ १ सय ५० र प्रतिलिपि ३३ गरि १ सय ८३ जनालाई नागरिकता वितरण गरेको सो कार्यालयका कम्प्युटर अपरेटर गौतम रोकायाले बताए ।
कतिपय सरकारी कार्यालयहरुमा ५ बजे पछि १ मिनेटका लागी पनि सरकारी कर्मचारीको कलम नचल्ने गरेको धेरै उदाहरणहरु नेपाली समाजमा देख्न सुन्न सकिन्छ तर डोटीको स्थानिय प्रशासनमा कार्यरत कर्मचारीहरुले खाजा पानी समेत नखाई राती ८ बजे पछिको समयमा समेत सेवा प्रवाह गरेर साच्चैको राष्ट्र सेवकले देखाउनु पर्ने उदारता देखाएको छ ।
उक्त कार्यालयले जारी गरेको सूचना अनुसार सोमबार जिल्लाका तिनओटा स्थानिय तहहरुको पालो तोकिएको छ । जसमा आदर्श गाँउपालिका, पुर्विचौकी चौकीगाँउपालिका र सायल गाँउपालिका हुन् ।