डोटी। डोटीको जोरायल गाउँपालिकाबाट प्रहरीले ७ किलोभन्दा बढी चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार जिल्लाको जोरायल गाउँपालिका–२ स्थित मिल चौराहमा रहेको बुडर–जोगबुढा सडकखण्डमा बिहीबार दिउँसो प्रहरीले चेकजाँच गर्ने क्रममा ७ किलो ८५ ग्राम चरेस बरामद गरेको हो।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुर र इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर बा.७७ प.८७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चरेस फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार बझाङको दुर्गाथली गाउँपालिका–५ जाफ्री निवासी ४८ वर्षीय ओमजंगबहादुर कडायतले बोकेको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा चरेस बरामद भएको हो।
मोटरसाइकल चालक सोही ठाउँका २८ वर्षीय वीरेन्द्र जप्रेल र कडायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










