डोटी। जिल्लाको पूर्वीचौकी गाउँपालिकाले स्थानीय स्तरबाटै मालपोत तथा नापीसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले भूमि प्रशासन शाखा स्थापना गरेको छ। जिल्लामा स्थानीय तहबाटै भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने पूर्वीचौकी पहिलो गाउँपालिका बनेको छ।
गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार संविधानले परिकल्पना गरेको अधिकार गाउँगाउँसम्म पुर्याउने उद्देश्यअनुरूप स्थानीय नागरिकलाई सहज रूपमा भूमिसम्बन्धी सेवा उपलब्ध गराउन शाखा स्थापना गरिएको हो।
उनले यस व्यवस्थाले स्थानीय बासिन्दालाई मालपोत तथा नापीसम्बन्धी कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्न सहयोग पुग्ने बताए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज शर्माले नेपाल सरकारको निर्णयअनुसार नागरिकको सहज पहुँच र सुविधालाई ध्यानमा राखेर भूमि प्रशासन शाखा स्थापना गरिएको जानकारी दिए।
यस्तै, भूमि प्रशासन कार्यालय डोटीका प्रमुख कपिल भट्टले जिल्लामा पहिलोपटक पूर्वीचौकी गाउँपालिकाले स्थानीय तहबाटै यस्तो सेवा सञ्चालनको व्यवस्था सुरु गरेको बताए।
यसअघि मालपोत तथा नापीसम्बन्धी कामका लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बताउँछन्। गाउँपालिकामै सेवा उपलब्ध हुने भएपछि समय र खर्चको बचत हुनुका साथै सेवा लिन सहज हुने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन्।










