डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–६ स्थित सिलगढी–बगलेक भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
शुक्रबार साँझ ७ः३० बजे बगलेबाट सिलगढीतर्फ आउँदै गरेको से १ ज ४७३ नम्बरको बोलेरो जिपको ब्रेक फेल भई सडकमा उत्तानो अवस्थामा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा दिपायल सिलगढी नगरपालिका–५ का ११ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था मध्यम र सात जनाको अवस्था सामान्य रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।
मध्यम अवस्था रहेका घाइतेमा ५५ वर्षीय रविन्द्र बाघचन, ५३ वर्षीया सत्यदेवी बाघचन, ३१ वर्षीय दिपेन्द्र देवाल र ११ वर्षीय बर्मान नेपाली रहेका छन्।
त्यस्तै, सामान्य घाइते हुनेमा १३ वर्षीय संजय राजत, २६ वर्षीया अञ्जली बब्सन, १२ वर्षीय हेन्सन न्यौपाने, ११ वर्षीय अरमान सिंह, ४० वर्षीया सम्झना टेलर, १४ वर्षीय ग्रेट नेपाली र ३८ वर्षीय सन्तोष देउजा रहेका छन्।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याइएको छ। दुर्घटनापछि प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार दुर्घटनापछि फरार रहेका जिप चालक चार्जर लामिछानेलाई राति ८ः५५ बजे नियन्त्रणमा लिइएको छ। दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










