बझाङ , बझाङमा भिरबाट लडेर रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको सकुशल उद्धार गरिएको छ। केदारस्युँ गाउँपालिका–९, सेकुकी रत्ना बिष्ट बुधबार दिउँसो बाटोमा हिँड्ने क्रममा चिप्लिएर करिब पाँच मिटर तल भिरमा खसेकी थिइन्। भिरमा खसेकी उनी रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन्।
घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट झोताबाट चार जना प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा दिउँसो करिब १ः२० बजे उनको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धारपछि वृद्धालाई सुरक्षित रूपमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।










