कार्तिक २५, सिलगढी,
यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर भाइटीका पर्व मनाइँदैछ। कात्तिक शुक्ल द्वितीयाका अवसरमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिएर पर्व मनाउने परम्परा छ।
नेपालीको दोस्रो ठूलो चाड तिहारको प्रमुख दिनका रूपमा रहेको भाइटीकालाई यमद्वितीया पनि भनिन्छ। धार्मिक मान्यताअनुसार यस दिन दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दा दाजुभाइको आयु वृद्धि र सुखसमृद्धि प्राप्त हुने विश्वास गरिन्छ। टीकापछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने तथा उपहार र दक्षिणा प्रदान गर्ने चलन छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीका लगाउन बिहान ११ः०७ बजेको समय उत्तम साइत रहेको छ। समितिका अध्यक्ष सहप्रा। डा। पुरुषोत्तम भट्टराईका अनुसार दिनभर टीका लगाउन बाधा छैन। तर राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने व्यवस्था छ।
समितिले यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने जनाएको छ। यसरी बस्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता छ। धर्मशास्त्रविद् प्राडा। रामचन्द्र गौतमका अनुसार शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।
भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी अष्टचिरञ्जीवी, यमराज, यमुना, धर्मराजलगायत देवीदेवताको आराधना गर्ने परम्परा छ। त्यसपछि दाजुभाइलाई तेलको धाराले छेकेर निधारमा टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीका माला पहिर्याउने गरिन्छ।
सप्तरङ्गी टीका लगाउने चलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् गौतम बताउँछन्।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटी तथा विभिन्न परिकार खुवाउने गर्छन्। दाजुभाइले पनि आफ्नो क्षमताअनुसार दिदीबहिनीलाई कपडा, दक्षिणा तथा उपहार दिएर सम्मान प्रकट गर्ने सामाजिक परम्परा छ।
दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला
दिदीबहिनी वा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर भाइटीकाका दिन खुला गरिन्छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनले पूजा, दर्शन तथा टीका ग्रहण गर्ने गर्छन्।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार भक्तजनको सुविधाका लागि बुधबार बिहानैदेखि मन्दिर खुला गर्ने तयारी गरिएको छ। त्यस्तै, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा तथा दर्शन गरी टीका लगाउने परम्परा छ। संस्कृतिविद् तथा गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डनका अनुसार विगतमा रानीपोखरीमा हामफालेर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि बालगोपालेश्वर मन्दिर बन्द गरिएको थियो। त्यसबेला दिदीबहिनी वा दाजुभाइ नहुनेहरू जयवागेश्वरीस्थित खञ्जनेश्वर मन्दिरमा भेला भएर टीका लगाउने गर्थे।
विसं २०३५ पछि रानीपोखरीस्थित मन्दिर भाइटीकाका दिन खुला गर्न थालिएको हो। २०७२ सालको भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि पुनर्निर्माण सम्पन्न नहुँदासम्म भक्तजन खञ्जनेश्वर मन्दिर पुग्ने गरेका थिए। पुनर्निर्माणपछि २०७७ सालदेखि बालगोपालेश्वर मन्दिर पुनः खुला गरिएको हो।
नेवार समुदायमा किजापूजा
भाइटीकालाई नेवार समुदायले किजापूजाका रूपमा मनाउने गर्छन्। कुल परम्परा र स्थानीय चलनअनुसार कतिपयले भाइटीकाकै दिन र कतिपयले अघिल्लो दिन किजापूजा गर्ने गर्छन्। भक्तपुरका अधिकांश नेवार समुदायले यस वर्ष तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार अघिल्लो दिन नै किजापूजा गरेको जनाइएको छ।










