डोटी / डोटीको पूर्वीचौकी गाउँपालिकामा पार्किङ गरेर राखिएको मोटरसाइकलमा अचानक आगलागी हुँदा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगो नजिकै रहेको किराना पसलमा समेत फैलिएर सामानमा क्षति पुगेको छ।
पूर्वीचौकी गाउँपालिका–१ माथिल्लो फुलौटमा खगेन्द्र खड्काले घरमा रोकेर राखेको बा ४६ प ६७४६ नम्बरको पल्सर मोटरसाइकलमा शनिबार दिउँसो करिब ३ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा जलेको छ। मोटरसाइकल नजिकै खड्काले सञ्चालन गर्दै आएको लक्ष्मी किराना पसलमा समेत आगो फैलिएको प्रहरीले जनाएको छ।
पसल बन्द अवस्थामा रहेकाले मानवीय क्षति भने भएको छैन। आगलागीबाट पसलमा रहेका १६ पोका लुगा धुने सोडा, पाँच पोका लाइटर, पाँच दर्जन कापी, १० प्याकेट चुरोट र दुई पेटी चाउचाउ जलेर क्षति भएको प्रारम्भिक विवरण छ।
आगलागीको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।










