सिलगढी, असोज १७
नेपालमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा बढ्दै गएको छ। सन् २०२६ को जनवरीदेखि हालसम्म देशभर ९ हजार ८७२ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण ७४ जिल्लामा फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हुम्ला, मुगु र डोल्पामा भने हालसम्म स्क्रब टाइफस पुष्टि भएको छैन। पछिल्लो एक महिनामै थप २ हजार ७१८ जनामा संक्रमण देखिएको छ।
सातवटै प्रदेशमा संक्रमण फैलिएकोमा पछिल्लो समय लुम्बिनी प्रदेशमा संक्रमितको संख्या बढी देखिएको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकीलगायत प्रदेशमा पनि संक्रमण बढिरहेको महाशाखाले जनाएको छ। वर्षायाममा घाँसपात तथा झाडीमा काम गर्ने क्रम बढ्ने भएकाले संक्रमणको जोखिम बढेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।
सल्यानको दार्मा गाउँपालिकामा संक्रमणको अवस्था गम्भीर देखिएपछि रोग नियन्त्रण महाशाखाको टोली त्यहाँ पुगेको छ। दार्मामा ६ सयभन्दा बढी संक्रमित र आठ जनाको मृत्यु भएको विवरण सार्वजनिक भए पनि आठ जनाको मृत्यु स्क्रब टाइफसकै कारण भएको पुष्टि भइनसकेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गत वर्ष सन् २०२५ मा पनि नेपालमा १० हजार १९२ जनामा स्क्रब टाइफस पुष्टि भएको थियो। त्यसमध्ये लुम्बिनीमा ३ हजार ४६०, सुदूरपश्चिममा २ हजार ३६ र गण्डकीमा १ हजार २३४ जना संक्रमित भएका थिए।
स्क्रब टाइफस ओरिएन्टिया त्सुत्सुगामुसी नामक जीवाणुबाट हुने रोग हो। संक्रमित सूक्ष्म माइटको टोकाइबाट मानिसमा संक्रमण सर्ने गर्छ। घाँसे तथा झाडी क्षेत्रमा काम गर्ने मानिस यसको बढी जोखिममा रहने चिकित्सकहरू बताउँछन्।
उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, जाडो लाग्ने, ग्रन्थी सुन्निने, छालामा बिमिरा आउने र माइटले टोकेको स्थानमा कालो दाग देखिनु यसका प्रमुख लक्षण हुन्। समयमै परीक्षण गरी चिकित्सकको सल्लाहअनुसार उपचार गरेमा स्क्रब टाइफस निको हुने स्वास्थ्य विज्ञहरूले बताएका छन्।
संक्रमणबाट जोगिन झाडी तथा घाँसपातमा काम गर्दा शरीर ढाक्ने कपडा, जुत्ता र पन्जा प्रयोग गर्न तथा घरवरिपरिका झाडी सफा राख्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। ज्वरो आएमा जथाभाबी औषधि सेवन नगरी तत्काल स्वास्थ्य संस्थामा गई परीक्षण र उपचार गराउनसमेत आग्रह गरिएको छ।










