डोटी । वैदेशिक रोजगार कसुरमा सजाय तोकिएपछि फरार रहेका डोटीका एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाकाे बडिकेदार गाउँपालिका–२ गाँडेसालका २८ वर्षीय प्रकाशबहादुर रोक्का मगरलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
वैदेशिक रोजगार न्यायाधिकरण, बबरमहल काठमाडौंले २०८२ जेठ १३ गते वैदेशिक रोजगार कसुर मुद्दामा रोक्का मगरलाई १ वर्ष ५ महिना ६ दिन कैद, ५० हजार रुपैयाँ जरिवाना र ६ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। फैसला कार्यान्वयन हुनुअघि उनी फरार रहेका थिए।
फरार प्रतिवादीको खोजीका क्रममा प्रहरी हवल्दार केशवसिंह धामीको कमाण्डमा खटिएको तीन सदस्यीय टोलीले उनलाई बडिकेदार गाउँपालिका–२ गाँडेसालबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
पक्राउ परेका रोक्का मगरलाई आजै जिल्ला अदालत डोटीमा उपस्थित गराइएको र अदालतको आदेशपछि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।











