भदौ ३०, डोटी, डोटीको शिखर नगरपालिका–५ रुडीगाड खोला किनार नजिकै एक नाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ।
प्रहरी टोली गस्ती सकेर फर्किने क्रममा सोमबार बिहान करिब ६ः३० बजे ओडारमा लुकाइराखिएको अवस्थामा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरी हवल्दार टिका महराको कमाण्डमा खटिएको तीन सदस्यीय टोलीले शिखर नगरपालिका–५ तिजाली हुँदै लेकगाउँतर्फ गस्ती गरेको थियो। फर्किने क्रममा रुडीगाड खोला किनार नजिकको ओडारमा बेवारिसे अवस्थामा एउटा भरुवा बन्दुक भेटिएको हो।
प्रहरीका अनुसार फेला परेको बन्दुक खाली अवस्थामा रहेको छ।
आवश्यक अनुसन्धानका लागि बन्दुकलाई सोही दिन साँझ करिब ७ः५५ बजे प्रहरी चौकी तल्कोट डोटीमा ल्याई सुरक्षित राखिएको छ।
बन्दुक कसको हो र त्यहाँ कसरी पुग्यो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











