डडेलधुरा/ सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत डडेलधुरा मेडिकल कलेजका लागि विभिन्न शैक्षिक पदमा करार सेवामार्फत पदपूर्ति गर्न आवेदन माग गरिएको छ।
विश्वविद्यालयको स्वास्थ्य विज्ञान सङ्काय, डीनको कार्यालय डडेलधुराले सोमबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।
सूचनाअनुसार सह–प्राध्यापक पदमा फार्माकोलोजी, माइक्रोबायोलोजी र फिजियोलोजी विषयमा एक–एक जना माग गरिएको छ।
उपप्राध्यापकतर्फ माइक्रोबायोलोजी, बायोकेमिस्ट्री, एनाटोमी र पब्लिक हेल्थ विषयमा पनि एक–एक जनाका लागि आवेदन खुलाइएको छ।
त्यस्तै, नर्सिङ साइन्स र ल्याबोरेटरी विषयमा एक–एक जना प्रशिक्षक पदका लागि समेत आवेदन माग गरिएको छ।
इच्छुक उम्मेदवारले असोज १२ गतेसम्म कार्यालय समयभित्र डीन कार्यालयमा स्वयं उपस्थित भएर वा अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम स्वास्थ्य विज्ञान सङ्कायको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।
आवेदनका लागि १ हजार ५ सय रुपैयाँ दस्तुर तोकिएको छ। दस्तुर सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्काय डीन कार्यालय डडेलधुराको नाममा रहेको नबिल बैंकको चल्ती हिसाब नम्बर २६८०१०१७५०००७८ मा जम्मा गरी सोको भौचर आवेदनसँगै पेस गर्नुपर्नेछ।
आवेदनसँग प्रवेशिकादेखि माथिका सबै शैक्षिक योग्यताका प्रमाणपत्र, हालसालै खिचिएका पासपोर्ट साइजका दुई प्रति फोटो, नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत विवरणका दुई प्रति संलग्न गर्नुपर्नेछ।
लिखित परीक्षाको मिति पछि सार्वजनिक गरिने जनाइएको छ। उम्मेदवारका लागि सम्पर्क मिति असोज १५ गते तोकिएको छ।











