डोटी / डोटीको केआईसिंह गाउँपालिकामा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
केआईसिंह गाउँपालिका–४ बास्कोटस्थित दिपायल–बोगटान भित्री सडकखण्डमा बिहीबार साँझ वायलबाट देउरडी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ८६८४ नम्बरको अटो ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार केआईसिंह गाउँपालिका–३ बासुदेवीका २४ वर्षीय दिपेन्द्र बमले चलाएको अटो सडकको दायाँतर्फको नालीमा पल्टिएको थियो।
दुर्घटनामा केआईसिंह गाउँपालिका–३ डल्लाकी ५५ वर्षीया लछु ऐर, वडा नम्बर २ देउगडाकी ३५ वर्षीया गौरीदेवी मल्ल, वडा नम्बर ३ बासुदेवीकी ५५ वर्षीया हरिनादेवी बम, डल्लाकी १५ वर्षीया चेतना ऐर र ४५ वर्षीया मातादेवी ऐर घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको राजपुरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।











