कैलाली / कैलालीको बर्दगोरियामा एक पुरुष छातीमा गोली लागेको अवस्थामा मृत फेला परेका छन्। बर्दगोरिया गाउँपालिका–३ बौनियाका करिब ४५ वर्षीय पदम विश्वकर्मा स्थानीय लालीगुराँस सामुदायिक वनमा मृत अवस्थामा भेटिएका हुन्।
प्रहरीका अनुसार विश्वकर्मा मंगलबार साँझ करिब साढे ८ बजे जंगलमा मृत अवस्थामा फेला परेका थिए। उनको बायाँ हातदेखि छातीको भागमा गोली लागेको जस्तो देखिने घाउ रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनास्थलबाट प्रहरीले एक थान भरुवा बन्दुकसमेत बरामद गरेको छ। विश्वकर्मा सिकार खेल्न जंगल गएको हुनसक्ने वडाध्यक्ष मनऋषी आचार्यले बताएका छन्।
यद्यपि उनी एक्लै जंगल गएका थिए वा अन्य व्यक्तिसँगै थिए भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय सडकपुर बौनियाले थप अनुसन्धान गरिरहेको छ।
विश्वकर्माको शव परीक्षणका लागि बौनियास्थित दोदोधारा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।











