डोटी, साउन १३
डोटीको जोरायल गाउँपालिकामा श्रीमान्को कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेका श्रीमान् प्रहरी नियन्त्रणमा रहेका छन्।
प्रहरीका अनुसार जोरायल गाउँपालिका–४ देउथलीका करिब ५०/५१ वर्षीय चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवन गरेको अवस्थामा आफ्नी ४७ वर्षीया श्रीमती अमृता ओलीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट उनको पेटको बायाँ भागमा गम्भीर चोट लागेको थियो।
घटनापछि अमृतालाई तत्काल उपचारका लागि स्वास्थ्य चौकी चन्कट्टे लगिएको थियो। थप उपचारका क्रममा साँझ ६ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा राखिएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोरायलबाट प्रहरी टोली घटनास्थल खटिएको थियो। प्रहरीले आरोपित चन्द्रबहादुर ओलीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।











