कञ्चनपुर, असार ३१
कञ्चनपुरमा श्रीमान्को कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारपछि मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका श्रीमान्लाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहाका ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारमाथि कुटपिट गरेका थिए। घटनामा घाइते भएकी पारुको प्रारम्भिक उपचार दोधाराचाँदनी अस्पतालमा गरिएको थियो।
उपचारपछि बुधबार अस्पतालबाट घर फर्किएकी पारुको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय दोधाराले रनबहादुर सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ। प्रहरीले घटनाको कारण र परिस्थितिबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।











