कञ्चनपुर, असार २९ , कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी धनादेवी उपाध्याय आइतबार साँझ घाँस काट्न जंगल गएका बेला बाघको आक्रमणमा परेकी हुन्।
प्रहरीका अनुसार उपाध्याय शुक्लाफाँटा क्षेत्रको जंगलमा घाँस काटिरहेको समयमा अचानक बाघले आक्रमण गरेको थियो। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उनको उद्धार गरिएको थियो।
घाइते उपाध्यायलाई तत्काल उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको छ। अस्पतालमा उनको उपचार भइरहेको र स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, वन क्षेत्र आसपासका बासिन्दालाई सावधानी अपनाउन तथा एक्लै जंगल प्रवेश नगर्न सम्बन्धित निकायले आग्रह गरेको छ।











