बझाङ, असार २९
बझाङको केदास्युँ गाउँपालिका–७ मा शनिबार भएको जीप दुर्घटनाको प्रमुख कारण क्षमताभन्दा बढी यात्रु बोकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार वर्षाका कारण हिलाम्मे बनेको कच्ची सडकमा अत्यधिक यात्रु बोकेर गइरहेको सुप्रप्र ०१००१ च २६६४ नम्बरको जीप दुर्घटनामा परेको हो। बुंगलबाट दुर्गाथलीतर्फ जाँदै गरेको उक्त जीपमा चालकसहित १६ जना सवार थिए।
दुर्घटना भएको स्थान उकालो र घुम्ती भएको क्षेत्र रहेको प्रहरीले जनाएको छ। वर्षाका कारण सडक चिप्लो बनेको र सवारीमा बढी भार रहेका कारण जीपले उकालो चढ्न नसकेको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
ट्राफिक प्रहरीका अनुसार चालकले उकालोमा जीप रोकेर ब्याक गरी घुम्ती पार गर्ने प्रयास गरेका थिए। तर, सवारी नियन्त्रण बाहिर गएपछि जीप सडकबाट तल भिरालो जमिनतर्फ खसेको थियो।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले प्रारम्भिक अनुसन्धानले जीप उकालोमा नचढेपछि पछाडि सर्दै दुर्घटनामा परेको देखिएको बताए। घटनाबारे थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने सात जना गम्भीर घाइते भएका छन्। चालक देवेन्द्र धामी पनि गम्भीर घाइते भएका छन्।
गम्भीर घाइतेमध्ये सात जनालाई आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो। तीमध्ये पाँच जनाको उपचार नेपालगञ्जमै भइरहेको छ भने चालक धामी र दुर्गाथली गाउँपालिकाका रामबहादुर महतलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको बझाङ प्रहरीले जनाएको छ।
सुदूरपश्चिमका पहाडी जिल्लामा स्थानीय तहहरूले निर्माण गरेका ग्रामीण सडकमा वर्षेनी हुने सवारी दुर्घटनाले जनधनको ठूलो क्षति हुँदै आएको छ। सडकको गुणस्तर, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र वर्षायामको जोखिमले दुर्घटनाका घटनाहरू बढ्दै गएको सरोकारवालाहरूको भनाइ छ।











