सिलगढी / देशभर मनसुनी वायु सक्रिय रहँदा आगामी केही दिन वर्षाको तीव्रता बढ्ने सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक अवस्थित रहेको छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। साथै, यी तीनै प्रदेशका तराई भू–भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज दिनभर कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ। मधेश प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भाग र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
आज राति पनि कोशी र बागमती प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना कायम रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।
मनसुन सक्रिय भएसँगै भारीदेखि अति भारी वर्षाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन अनुरोध गरेको छ।











