कैलाली, असार २१ – धनगढीमा डेरा गरी बस्दै आएका १८ वर्षीय बिराज ताम्राकार मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भएका ताम्राकार गत बुधबार धनगढी उपमहानगरपालिका–विशालनगरस्थित डेराको कोठामा मृत अवस्थामा फेला परेका थिए। घटनापछि उनको मृत्युबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन् भने दलित अधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
प्रहरीका अनुसार ताम्राकार धनगढीकै एक विद्यालयबाट एसईईमा ए प्लस ग्रेड ल्याएर कक्षा ११ मा अध्ययनरत थिए। उनी डेरा बसेकै घरकी १६ वर्षीया किशोरीसँग प्रेम सम्बन्धमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीले आत्महत्या दुरुत्साहन मुद्दामा किशोरी र उनकी आमालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार असार १२ गते पक्राउ परेका दुवै जनामाथि कानुनी प्रक्रिया अनुसार अनुसन्धान भइरहेको छ।
प्रहरी स्रोतका अनुसार किशोर–किशोरीबीचको प्रेम सम्बन्धबारे परिवारलाई जानकारी भएपछि सम्झाइबुझाइ गरिएको थियो। त्यसपछि उनीहरूबीच दूरी बढेको र त्यसको मनोवैज्ञानिक प्रभावका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि प्रहरीले यसलाई अन्तिम निष्कर्षका रूपमा पुष्टि गरेको छैन।
शव परीक्षण प्रतिवेदनमा ताम्राकार झुन्डिएको अवस्थामा मृत फेला परेको उल्लेख भए पनि घटनाका सबै पक्षको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अन्तरजातीय प्रेम सम्बन्धलगायत सम्भावित सबै कोणबाट अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।











