डोटी, असार ८ / डोटीको शिखर नगरपालिका–९ सुन्नका एक व्यक्ति अवैध भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
डाेटी प्रहरीका अनुसार शिखर नगरपालिका–९ सुन्न निवासी घनश्याम विकले अवैध रूपमा घरेलु हतियार लुकाई राखेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दिपायल र प्रहरी चौकी तिलतालीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएकाे हाे ।
खोजीका क्रममा विकको घर नजिकै रहेको खेतबारीमा लुकाई–छिपाई राखिएको अवस्थामा एक थान अवैध भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको बन्दुक नियन्त्रणमा लिई घनश्याम विकलाई समेत पक्राउ गरिएको छ।
यस घटनामा थप अनुसन्धानका लागि जिल्ला अदालत डोटीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।











