असार-८ कैलाली
कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–७ मनेहरा नजिकबाट खैरो हेरोइनजस्तो देखिने २ ग्राम ३०३ मिलिग्राम पदार्थसहित ६ जनालाई आइतबार साँझ पक्राउ गरिएको हो। पक्राउ पर्नेमा २१ वर्षीय शिव नारायण राना, २९ वर्षीय राम अवतार राना, २४ वर्षीय सुवास राना, २७ वर्षीय जस्मन्त राना, अर्का २७ वर्षीय सुवास राना तथा एक १८ वर्षीय किशोर रहेका छन्।
त्यसैगरी, धनगढी–३ स्थित फाप्ला क्रिकेट मैदान नजिकबाट चरेसजस्तो देखिने २ ग्राम ६३ मिलिग्राम पदार्थसहित २० वर्षीय बेनी माधव खड्का र एक १८ वर्षीय किशोर पक्राउ परेका छन्।
यस्तै, धनगढी–१ महोत्सव ग्राउण्ड क्षेत्रबाट गाँजा ४ ग्राम ३४० मिलिग्राम र चरेसजस्तो देखिने ११० मिलिग्राम पदार्थसहित २६ वर्षीय आयुष ओली, २६ वर्षीय अस्पात अन्सारी र २५ वर्षीय प्रज्वल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद लागूऔषधसहित पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











