असार-८ धनगढी, अत्यधिक गर्मी र तातो लहरका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै धनगढी उपमहानगरपालिकाले आगामी चार दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाका शिक्षा अधिकृत जयराज जैशीद्वारा जारी सूचनाअनुसार उपमहानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरू असार ९ गतेदेखि १२ गतेसम्म बन्द रहनेछन्।
पछिल्ला केही दिनयता धनगढीलगायत आसपासका क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेपछि जनजीवन प्रभावित बनेको छ। बढ्दो गर्मी र तातो लहरका कारण विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले अभिभावकलाई बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ।











