सिलगढी । नेपालमा हाल कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव देखिएको छ भने अन्य क्षेत्रमा स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेश तथा देशका अधिकांश हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागसँगै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसँगै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै मधेश प्रदेशका एक–दुई स्थान तथा कोशी प्रदेशको तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। साथै तातो लहरको प्रभाव रहने क्षेत्रका बासिन्दालाई अत्यावश्यक कामबाहेक घाममा बाहिर ननिस्कन र पर्याप्त मात्रामा पानी पिउन सुझाव दिएको छ।











