बाजुरा / बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गरेको आरोपमा हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
रानीसैन–च्याँचौर लामापाटा क्षेत्रको सीमा विवादलाई लिएर गत जेठ ३ गते खार्पुनाथ गाउँपालिकाका केही स्थानीयले लामापाटामा बसोबास गर्दै आएका करिब १० परिवारमाथि आक्रमण गरी कुटपिट गरेका थिए। घटनापछि फरार रहेका उनीहरूको खोजी कार्य जारी रहेकामा प्रहरीले पक्राउ गर्न सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि बाजुरा ल्याउने प्रक्रिया अघि बढाइएको छ।
गत जेठको पहिलो सातादेखि हिमाली गाउँपालिकाको पहलमा प्रदेश सरकारको चार लाख रुपैयाँको लागतमा लामापाटामा अस्थायी प्रहरी चौकी निर्माणको काम सुरु गरिएको थियो। सीमा सुरक्षा तथा वन्यजन्तुको अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले चौकी स्थापना गर्न लागिएको जनाइएको छ।
प्रहरी चौकी निर्माणको विरोध गर्दै खार्पुनाथ गाउँपालिकाका केही स्थानीय लामापाटा पुगेका थिए। उनीहरूले स्थानीयवासी तथा चौकी निर्माणमा खटिएका मिस्त्री र ज्यामीमाथि कुटपिट गरी त्यहाँबाट लखेटेका थिए। आक्रमणका क्रममा स्थानीयका घरमा समेत क्षति पुर्याइएको थियो।
घटनामा मेपागार गुरुङ, लक्ष्मी गुरुङ, नरबहादुर गुरुङ र मीन कुँवर गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार जिल्ला प्रशासन कार्यालयको पहल तथा गृह मन्त्रालयको निर्देशनमा गत जेठ ३० गते लामापाटामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना गरिएपछि फरार व्यक्तिहरूको खोजी कार्य प्रभावकारी बनेको थियो।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको र कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।











