डाेटी/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्ष इन्द्राकुमारी बोहरासहित आठ जना तथा एक निर्माण व्यवसायीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार ठूलीगाड र कापडीगाड नदीको बगर क्षेत्रबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन गर्दा उठाउनुपर्ने राजस्व संकलन नगरी राज्यलाई आर्थिक हानी पुर्याएको आरोपमा मुद्दा दायर गरिएको हो।
उक्त प्रकरणमा तत्कालीन अध्यक्ष चन्द र उपाध्यक्ष बोहराविरुद्ध १४ लाख १० हजार २४० रुपैयाँ बिगो कायम गरिएको छ। यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकराज जैशी, लेखापाल युवराज भट्ट, शिक्षा अधिकृत विवेक देउवा, सबइन्जिनियर दानबहादुर पछेरा तथा भागीरथी निर्माण सेवा कैलालीका सञ्चालक पशुपति जोशी र अख्तियारप्राप्त व्यक्ति केशवबहादुर बमविरुद्ध पनि सोही रकम बराबरको बिगो तथा कैद सजायको माग गरिएको छ।
यसैगरी गाउँपालिकाले एक्स्काभेटर भाडामा दिने ठेक्काबाट उठ्नुपर्ने राजस्व संकलन नगरेको आरोपमा अध्यक्ष चन्द, उपाध्यक्ष बोहरा र निमित्त प्रमुख प्रशासकीय अधिकृत जैशीविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
सो मुद्दामा लेखापाल भट्ट, सबइन्जिनियर पछेरा, भागीरथी निर्माण सेवाका सञ्चालक जोशी तथा अख्तियारप्राप्त व्यक्ति बमविरुद्ध ४६ लाख ९५ हजार ६०० रुपैयाँ बिगो र कैद सजायको माग गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
दुवै मुद्दा जोड्दा अख्तियारले ६१ लाख ५ हजार ८४० रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा अभियोग दर्ता गरेको छ। आयोगले सार्वजनिक सम्पत्तिबाट उठ्नुपर्ने राजस्व संकलन नगरी राज्यलाई हानी पुर्याएको निष्कर्षसहित कानुनी कारबाही अघि बढाएको जनाएको छ।











