सिलगढी/ नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेशमा आंशिक बदली रहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशका हिमाली तथा पहाडी भूभागसँगै कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। साथै, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाले विशेषगरी वर्षा, चट्याङ र स्थानीय मौसमीय गतिविधिबाट प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।











