कैलाली / कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको टेम्पो भीरमा खसालिएको घटनामा संलग्न रहेको आशंकामा १० जना वन कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ।
शनिबार भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो। त्यसपछि घटनाको वास्तविकता पत्ता लगाउन जिल्ला प्रहरीले वन कार्यालयका कर्मचारीहरूसँग बयान लिने तथा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी भिडियो, प्रत्यक्षदर्शीको भनाइ तथा सम्बन्धित पक्षहरूसँग सोधपुछ भइरहेको छ। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
घटनामा गोदावरी नगरपालिका–४ बासपानी निवासी ४४ वर्षीया धनादेवी धामीले व्यापारका लागि प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले जानाजानी भीरबाट खसालिदिएको आरोप लगाएकी छन्। उनले टेम्पो आफैं घर लैजाने र उक्त स्थानमा व्यापार नगर्ने प्रतिबद्धता जनाउँदा पनि कर्मचारीहरूले बेवास्ता गर्दै सवारी साधन भीरमा खसालेको दाबी गरेकी छन्।
यता वन कार्यालयले भने वन अतिक्रमण हटाउने अभियानका क्रममा टेम्पोलाई सुरक्षित स्थानमा सार्ने प्रयास गर्दा भिरालो भूगोल र असन्तुलनका कारण दुर्घटनावश भीरमा खसेको जनाएको छ।
घटनापछि वन कर्मचारीको कार्यशैलीप्रति सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले प्रश्न उठाएका छन्। पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसमेत बढ्दै गएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।











