बैतडी / सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। विशेषगरी जिल्लाको प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिर ले आन्तरिक तथा भारतीय पर्यटकको आकर्षण बढाउँदै लगेको छ। मन्दिरलाई नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यमध्ये एकका रूपमा सूचीकृत गरेको छ।
दशरथचन्द नगरपालिकास्थित यो ऐतिहासिक मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई सुदूरपश्चिमको सांस्कृतिक पहिचान पनि बनेको छ। हरेक वर्ष कार्तिक शुक्ल अष्टमीमा लाग्ने जात्राका अवसरमा नेपाल तथा भारतबाट हजारौं श्रद्धालु र पर्यटक यहाँ पुग्ने गर्दछन्।
पर्यटन व्यवसायीहरूका अनुसार मन्दिर परिसरबाट देखिने मनोरम पहाडी दृश्य, परम्परागत संस्कृति र स्थानीय जीवनशैलीले पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको छ। पगोडा शैलीमा निर्मित मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्वले पनि यसको लोकप्रियता बढाएको छ।
यसैगरी, पाटन क्षेत्र पनि प्राकृतिक सौन्दर्यका कारण पर्यटकको रोजाइमा पर्न थालेको छ। सल्लाघारी जंगल, सुर्नया नदीको मनोरम दृश्य, पदयात्राका सम्भावना तथा स्थानीय संस्कृतिले पाटनलाई बैतडीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरिरहेको छ।
पर्यटन प्रवर्द्धनका लागि स्थानीय तहहरूले सडक पहुँच सुधार, पर्यटकीय स्थलहरूको प्रचारप्रसार तथा आधारभूत पूर्वाधार निर्माणमा जोड दिएका छन्। सरोकारवालाहरूका अनुसार धार्मिक पर्यटनसँगै प्राकृतिक र ग्रामीण पर्यटनको विकास गर्न सके बैतडी जिल्लाले सुदूरपश्चिमको महत्वपूर्ण पर्यटन केन्द्रका रूपमा पहिचान बनाउन सक्नेछ।











