सिलगढी । देशका विभिन्न स्थानमा आज मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण मौसममा बदली भएको हो।
विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि देशभर बदली रहने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम, लुम्बिनी तथा कर्णाली प्रदेशका केही पहाडी र तराई क्षेत्रमा वर्षा हुन सक्नेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
मौसमविद् विनोद पोखरेलका अनुसार आगामी दुई दिन लुम्बिनी, बागमती र मधेश प्रदेशका दक्षिणी क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। पछिल्लो केही घण्टादेखि सक्रिय बनेको बादल प्रणालीका कारण ती क्षेत्रमा वर्षाको सम्भावना बढेको उनले बताएका छन्।
मौसमविद्हरूले वर्षासँगै चट्याङ, हुरी तथा स्थानीय रूपमा आउने जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।











