धनगढी / कञ्चनपुर र कैलालीमा विभिन्न मुद्दामा अदालतबाट कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
फैसला कार्यान्वयन अभियानअन्तर्गत खटिएको प्रहरी टोलीले फरार प्रतिवादीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित अदालतमा पेश गरेको जनाएको छ।
कञ्चनपुरमा जिल्ला अदालतको फैसलाअनुसार विद्युतीय कारोबार सम्बन्धी कसुर मुद्दामा ६ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएका लालझाडी गाउँपालिका–२ निवासी ३२ वर्षीय शंकर राना पक्राउ परेका छन्। यस्तै, लागूऔषध (खैरो हेरोइन) मुद्दामा ३ महिना कैद सजाय ठहर भएका भीमदत्त नगरपालिका–२ भाँसी निवासी २३ वर्षीय सिजन नेगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उता कैलालीमा लागूऔषध सम्बन्धी मुद्दामा कैद सजाय तोकिएर फरार रहेका दुई जनालाई पक्राउ गरिएको छ। लम्कीचुहा नगरपालिका–४ निवासी दिपक सुनारलाई ३ महिना कैद सजाय र भजनी नगरपालिका–६ निवासी रुप भण्डारीलाई ७ महिना कैद सजाय ठहर भएको थियो।
प्रहरीका अनुसार पक्राउ परेका चारै जनालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा उपस्थित गराइएको छ। अदालतबाट सजाय तथा जरिवाना ठहर भई फरार रहेका व्यक्तिहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।











