डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–४ कुनिगडास्थित पहलमान सिंह स्वार राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन्।
सोमबार साँझ करिब ६ः४० बजे चौखुट्टेबाट सानागाउँतर्फ जाँदै गरेको से ६ प ९३९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा रहेको ढुङ्गामा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक पूर्वीचौकी गाउँपालिका–४ धौलावस्ती निवासी ३३ वर्षीय कमल जोशी घाइते भएका छन्। उनको अनुहार, टाउको, हात र खुट्टामा चोट लागेको छ। घाइते जोशीलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको छ।
दुर्घटनाबाट मोटरसाइकलको अगाडिको भाग तथा इन्धन ट्यांकीमा क्षति पुगेको छ।











