बैतडी / बैतडीको दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानीमा जिप दुर्घटना हुँदा चालकसहि २ जना घाइते भएका छन् ।
मंगलबार बिहान करिब ११ बजे म १ ज १३९ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा पुर्चौडी नगरपालिका–९ तल्लादेही निवासी ३० वर्षीय चालक कर्णबहादुर बोहरा गम्भीर घाइते भएका छन्। उनको टाउको र छातीमा चोट लागेको प्रहरीले जनाएको छ।
जिपमा सवार अर्का यात्रु पुर्चौडी नगरपालिका–८ का २४ वर्षीय बागमती साउद पनि घाइते भएका छन्। उनको दाहिने आँखामा चोट लागेको र अवस्था सामान्य रहेको बताइएको छ।
घाइते दुवै जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त जिपमा चालकसहित दुई जना मात्र सवार थिए।











