दार्चुला / दार्चुलाको महाकाली नगरपालिका–४ मोहतीस्थित एक होटलबाट जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महाकाली नगरपालिका–५ निवासी ४१ वर्षीय जयसिंह ठगुन्नाले सञ्चालन गरेको गोर्खा होटलमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा शनिबार राति प्रहरी टोलीले छापा मारेको थियो।
छापामार कारबाहीका क्रममा होटल सञ्चालक ठगुन्नासहित सात जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट नगद एक लाख ६२ हजार ७५० रुपैयाँ र दुई गड्डी तास बरामद गरिएको छ।
पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।











