कैलाली / कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा अटोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
गोदावरी नगरपालिका–१ बनखेतस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट अत्तरियातर्फ जाँदै गरेको भि.न.पा.००–१ ह ०८७० नम्बरको अटोले ठक्कर दिँदा सोही ठाउँकी ६० वर्षीया पशुपति नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी लगिएको थियो। तर, चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
अटो चालक गोदावरी नगरपालिका–११ ओलानीका ५५ वर्षीय प्रेम परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











