जेठ १४, सिलगढी
नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज पनि देशका विभिन्न स्थानमा मौसम बदली रहने भएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत एक–दुई स्थानमा पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तातो दिनको प्रभाव कायम रहने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर मौसम पूर्ण रूपमा खुल्ने सम्भावना नरहेको बताइएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागमा हुरी चल्न सक्ने भएकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।











