कैलाली /कैलाली को लम्कीचुहा नगरपालिका–८ गप्काबाट एक बालकसहित तीन जना सोमबारदेखि सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुनेमा १२ वर्षीय राजेन्द्र साउँद, १८ वर्षीय विनोद साउँद र १९ वर्षीय कृष्ण मल्ल रहेका छन्। उनीहरू सोमबार बिहान करिब ११ बजेदेखि बेपत्ता भएको परिवारले जनाएको छ।
परिवारका अनुसार राजेन्द्र गप्कास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन्। उनी आफ्नी वृद्ध हजुरआमासँग बस्दै आएका थिए भने उनका आमाबुवा रोजगारीका लागि भारतमा रहेका छन्।
राजेन्द्रका आफन्तले विनोद र कृष्णले उनलाई साथमा लगेको हुन सक्ने आशंका गरेका छन्। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिइएको परिवारले जनाएको छ।
राजेन्द्रको उचाइ करिब चार फिट, गहुँगोरो वर्ण र सामान्य शारीरिक बनावट रहेको बताइएको छ। उनलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६५६३३६०६ मा जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ।
घटनाबारे प्रहरीले खोजी कार्य तीव्र बनाएको जनाएको छ











